Home नेपाल समाचार परिणाममुखी सार्वजनिक प्रशासन : RajdhaniDaily.com

परिणाममुखी सार्वजनिक प्रशासन : RajdhaniDaily.com

0
परिणाममुखी सार्वजनिक प्रशासन : RajdhaniDaily.com

सार्वजनिक प्रशासन परिणाममुखी हुन सकेन, आजको चासोको विषय बनेको छ । निजामती प्रशासनले राजनीति र जनताको अपेक्षाअनुसार काम गर्न सकेन, सबैतिर आलोचना भइरहेको छ । निजामती प्रशासनलाई रिजेक्टेड ब्रेनको थुप्रो भन्नेहरू थप जुर्मुराएका छन् । प्रजातान्त्रिक, खुला र सचेत समाजको विकासले सार्वजनिक प्रशासनका क्रियाकलाप, सार्वजनिक प्रशासनमाथि भएको सरकारको लगानी र जनताले तिरेको करको उपलब्धि के भयो भनेर खोज्ने, समीक्षा गर्ने प्रश्न गर्ने पद्धतिको विकासले सार्वजनिक प्रशासनलाई परिणाममुखी बनाउन दबाब बढेको छ । निजामती सेवाले आफूमाथि लागेको आरोप नधोई नहुने भएको छ । निजामती सेवालाई परिणाममुखी बनाउन सम्पूर्ण कर्मचारीमा एक किसिमको प्रतिबद्धताको आवश्यकता आवश्यक भएको छ ।

सार्वजनिक प्रशासन जनता र सरकारबीचको सेतु हो । सरकारका नीति र निर्णयको कार्यान्वयनको समूल जिम्मेवारी कर्मचारीतन्त्रको हो । कर्मचारीतन्त्र अप्रभावकारी भएको खण्डमा सरकारका निर्णय कार्यान्वयन हुन सक्दैनन् र जनताले सेवासुविधा प्राप्त गर्न पनि सक्दैनन् । प्रशासनले काम गर्ने वातावरण स्थिर प्रकृतिको हुन्थ्यो । प्रशासनको परम्परावादी दृष्टिकोणअनुसार प्रशासनले ईनपुट (आगत) र प्रक्रियामा जोड दिन्थ्यो र परिणामको ख्याल गर्दैनथ्यो । नामरहितता (एनोनमिटी) र न देख्ने न सुन्ने चरित्र अर्थात् तटस्थ कर्मचारीका रूपमा कार्यसम्पादन गर्न प्रेरित गर्दथ्यो र आफ्नो सुपरीवेक्षकप्रति उत्तरदायी भए पुग्ने पद्धतिमा विश्वास गथ्र्याे । राम्रो प्रक्रिया पु¥याउने कर्मचारी पुरस्कृत हुन्थ्यो र परिणामप्रति कसैको चासो थिएन ।

समय बदलिएको छ । प्रशासनले काम गर्ने वातावरण परिवर्तन भएको छ । नागरिक र सेवाग्राही सचेत छन् । प्रशासनले सम्पादन गरेको कामको परिणाम र उपलब्धि खोज्न थालिएको छ । सार्वजनिक खर्चको मूल्य खोज्न थालिएको छ । परिणामलाई प्रशासनको प्रभावकारिताको मापकका रूपमा लिइएको छ । यसकारण प्रशासनको परिणाम नाप्न सकिएन भने सफलता असफलता के भयो छुट्याउन सकिँदैन । सफलता नदेखेपछि परिणामलाई पुरस्कृत गर्न सकिँदैन । सफलतालाई पुरस्कृत गर्न सकिएन भने सम्भवतः असफलतालाई पुरस्कृत गर्न पुगिन्छ जुन अत्यन्त प्रत्युत्पादक बन्न जान्छ । सफलता नदेखेपछि सिक्न र सिकाउन सकिँदैन । असफलता पहिचान भएन भने सच्याउन सकिँदैन । परिणाम नदेखाइकन सरकार र जनताको विश्वास जित्न पनि सकिँदैन । यसकारण परिणाममुखी प्रशासनको खोजी हुन थालेको हो ।

राजनीति नेतृत्व र प्रशासनिक नेतृत्व संगठनात्मक लक्ष्य निर्धारण र हासिल गर्न सहमत हुनुपर्छ

नेपालको सार्वजनिक प्रशासन पनि परम्परावादी प्रशासनजस्तै प्रक्रियामूलक छ । आगत र नियममूखी तथा अलचक छ । संगठनको जिम्मेवारी र लक्ष्य स्पष्ट छैन । कर्मचारीको कार्यविवरण प्रस्ट छैन । विभागीकरण अस्पष्ट छ । संगठनको जिम्मेवारीमा दोहोरोपन छ । प्रशासन केन्द्रीकृत छ । आदेश र निर्देशको भरमा चल्ने गर्छ । निर्णय र सूचना प्रवाह माथिबाट तलतिर झर्छ । निर्णय प्रक्रियामा कर्मचारीको सहभागिता न्यून छ । प्रशासनले बन्द प्रणालीमा काम गर्दछ । काम गराईमा पारदर्शिता भेट्टाउन दुर्लभ छ । प्रशासनमा काम पन्छाउने (बक पासिङ), ढिलो गर्ने र सर्भर डाउन भयो भन्दै काम नगर्ने प्रवृति बढेको छ । कार्यसम्पादनलाई परिणामसँग गाँसिएको छैन । कर्मचारीका लागि कार्य उत्प्रेरणा जगाउने मौद्रिक गैरमौद्रिक सुविधा कम छन् । राजनीति र प्रशासनबीच मौन द्वन्द्व रहने गरेको छ । राजनीतिमा पहुँच भएका स्वार्थ समूह र राजनीतिक कार्यकर्ताको प्रशासनमाथि दबदबा छ । प्रशासनिक निर्णय गर्ने वातावरण राम्रो छैन । बजेट विनियोजन वैज्ञानिक र अनुसन्धानमा आधारित नभएका कारण कार्यक्रम सहज रूपमा कार्यान्वयन हुने गरेको पाइँदैन । परियोजना र कार्यक्रमको अनुगमन, रिपोर्टिङ र समीक्षा प्रभावकारी छैन । सार्वजनिक प्रशासनका क्षेत्रमा आर्थिक अनियमितता र भ्रष्टाचारको हालिमुहाली छ । कुनै कर्मचारीको उत्तरदायित्व किटिएको छैन । काम बिग्रियो भने कसैलाई पनि जिम्मेवार बनाएर कारबाही गर्न सकिँदैन । आफ्नो संगठनको महत्व देखाउन धेरै काम, धेरै कर्मचारी र धेरै बजेट ओगटने (एम्पायर विल्डिङ) तर परिणामप्रति बेवास्ता गर्ने प्रवृति उच्च छ । परिणामको आधारमा कर्मचारीलाई पुरस्कृत गर्ने पद्धति पनि छैन ।

परिर्वतनसँगै सार्वजनिक प्रशासनका अवधारणामा परिवर्तन आइहेको छ । संगठनातमक क्रियाकलापबाट जनताको जीवनस्तरमा, जनताको सन्तुष्टिमा र सरकारको विश्वासमा आएको परिवर्तनलाई उपलब्धिमूलक प्रशासन भनिन्छ । उपलब्धिमूलक प्रशासन प्रणाली पद्धतिमूलक हुन्छ, जहाँ आगत (इनपुट), प्रक्रिया (प्रोसेस), उपलब्धि (आउटपुट), प्रभाव (आउटकम) र अनुपोषण (फिडब्याक) रहेको हुन्छ । उपलब्धिमूलक प्रशासनमा प्रभाव उपलब्धि हुन्छ र उद्देश्य र लक्ष्य उपलब्धि हासिल गर्ने साधनका रूपमा रहन्छन् । जस्तै सडक निर्माण गर्नु उद्देश्य हो भने सडकबाट स्थानीय जनताको जीवनस्तरमा आउने परिवर्तन उपलब्धि हो । यसकारण उद्देश्य र लक्ष्य प्राप्त भएपछि उपलब्धि प्राप्त हुन्छ भन्ने विश्वास उपलब्धि प्रशासनले गर्छ ।

उपलब्धि हासिल गर्नु भनेको सार्वजनिक प्रशासनले प्रतिबद्ध भई कार्यसम्पादन गरेको परिणाम हो । उपलब्धिमूलक प्रशासनका केही रणनीतिको विवेचना यहाँ गर्न प्रासांगिक हुन्छ । १. उद्देश्यमूलक व्यवस्थापन (म्यानेजमेन्ट वाई अब्जेटिभस्) मा संगठनको उद्देश्य स्पष्ट हुन्छ भने उपलब्धिका लागि परिणामका प्रमुख विषय तथा उपलब्धिका लागि संगठनका महाशाखा र कर्मचारीको व्यक्तिगत लक्ष्यसमेत किटिएको हुन्छ । उपलब्धि मापनका लागि परिणाम मापनका सूचक बनाइन्छ । कर्मचारीहरू स्वतः परिचालित र स्वअनुशासनको मार्गमा रहेका हुन्छन् । कर्मचारी उपलब्धि हासिल गर्न कार्ययोजना बनाएर सक्रिय हुन्छन् भने उनीहरूको निरन्तर कार्यसम्पादनको अनुगमन गरिएको र पक्षपोषण दिने गरिन्छ । कर्मचारीहरू संगठनात्मक लक्ष्य प्राप्त गर्न निर्णय गर्न, बजेट खर्च गर्न, मानव संशाधन र सूचना परिचालन गर्न स्वतन्त्र हुन्छन् । जनता केन्द्रित प्रशासन हुन्छ भने निर्णय प्रक्रिया सहभागितामूलक हुन्छ । उपलब्धिका आधारमा कर्मचारीको कार्यसम्पादन मूल्याकंन गरिन्छ भने परिणामलाई पुरस्कृत गर्ने पनि गरिन्छ ।

२. उपलब्धिमूलक मिसनको व्यवस्थापनमा संगठनको मिसन स्पष्ट हुन्छ र मिसन सबै कर्मचारीलाई जानकारी गराउँदै कर्मचारीलाई मिसनउन्मुख बनाइन्छ । ३. उपलब्धिमूलक संगठनात्मक विकासमा संगठनलाई उपलब्धिका लागि पुनर्संगठित गरिन्छ । ४. परिणामका लागि कर्मचारीको सशक्तीकरणअन्तर्गत क्षमता विकासलाई महत्व दिइएको हुन्छ । ५. उपलब्धिमा आधारित कार्यसम्पादन मूल्याकंन परिपाटी विकास गरिएको हुन्छ । ६. उपलब्धिमूलक प्रशासनमा प्रक्रिया नभई परिणामका लागि पुरस्कार दिने गरिन्छ । ७. परिणामका लागि बजेट विनियोजन गरिएको हुन्छ । ८. प्रशासनप्रति जनविश्वास जगाउन परिणामको सार्वजनिक प्रदर्शन गर्ने पनि गरिन्छ । ९.उपलब्धिमूलक प्रशासनमा अनुगमन तथा मूल्याकंनको उद्देश्य उपलब्धिमूलक हुन्छ । १०. संगठन र कर्मचारी परिणामप्रति उत्तरदायी बन्ने गर्छन् । ११. उपलब्धिमूलक कार्यसम्पादनका आधारमा कर्मचारीलाई इनसेन्टिभ दिने गरिन्छ भने प्रशासनिक कार्य वातावरण उपलब्धिमूलक बनाइएको हुन्छ ।

साथै, उपलब्धि हासिल गर्नु प्रशासनको एक मात्र लक्ष्य, उद्देश्य हो । उपलब्धि हासिल गर्न रणनीतिक व्यवस्थापन, रियल टाइम म्यानेजमेन्ट र म्यानेजमेन्ट वाई वाकिङ अहिले निकै प्रयुक्त अवधारणा हुन् । परिणाम प्राप्त गर्ने उद्देश्य वा मन राखेर मात्र प्राप्त हुँदैन । परिणाम प्राप्त गर्न प्रशासनिक कार्यवातावरण प्रतिस्पर्धी र उत्प्रेरित हुनुपर्छ । प्रतिस्पर्धी निजामती सेवा बनाउन कर्मचारीको लक्ष्य किटान गर्ने, कर्मचारीलाई उत्प्रेरित गर्ने, क्षमता विकास गर्ने, कार्यसम्पादनमा आधारित पुरस्कार दिने, उत्कृष्ट कर्मचारीको सम्मान गर्ने, श्रेष्ठ कार्यालय तोक्ने र कार्यालयमा क्वालिटी सर्कल बनाउने गरिन्छ । समावेशी प्रशासन, कर्मचारीको स्पष्ट कार्य विवरण, स्पष्ट विभागीकरण, कर्मचारीको उत्पादकत्वमा वृद्धि, कार्यसम्पादनको उद्देश्यमूलक परीक्षण, कर्मचारीको जिम्मेवारी र उत्तरदायित्व किटान, परिणाममुखी कार्यसंस्कृति र स्तरीय कार्य प्रक्रिया (एसओपी) परिणाममुखी प्रशासनका आधारभूत पक्ष हुन् ।

विकास प्रशासन नै उपलब्धिमूलक प्रशासन हो जुन लक्ष्यउन्मुख हुन्छ । प्रशासनलाई उपलब्धिमूलक बनाउन केके उपलब्धि हासिल गर्ने हो र उपलब्धि हासिल गर्न संगठनको नेतृत्व र कर्मचारी कसरी स्वतः परिचालित, अनुशासित र परिणामप्रति उत्सुक हुन्छन् सो स्पष्ट हुने गरी रणनीतिक योजना बनाएर कार्यान्वयन गर्नुपर्छ । काम दिने राजनीति नेतृत्व र काम गर्ने प्रशासनिक नेतृत्व संगठनात्मक लक्ष्य निर्धारण गर्न र सो लक्ष्य हासिल गर्न सहमत हुनुपर्छ र सोअनुरूप वातावरण निर्माण गर्न कटिबद्ध पनि हुनुपर्छ । परिणामको निरन्तर खोजीले प्रशासनलाई परिणाममुखी बन्न बाध्य गर्छ । लक्ष्यको निर्धारण र लक्ष्य प्राप्तिको निरन्तर अनुशासित उद्यम नै उपलब्धिमूलक प्रशासन हो । निजामती प्रशासनलाई उपलब्धिमूलक बनाउन निजामती सेवा ऐन र प्रशासनिक कार्य सम्बद्ध ऐन नै उपलब्धिउन्मुख बनाउनुपर्छ ।

(48 पटक भ्रमण गरिएको, 1 भ्रमण आज)


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here