Home नेपाल समाचार एआई, समाचार एजेन्सी र पत्रकार

एआई, समाचार एजेन्सी र पत्रकार

0
एआई, समाचार एजेन्सी र पत्रकार

मानिसको सु–सूचित हुने अधिकार र सूचनाको हक स्थापित गर्न भन्दै पत्रकारिताको अभ्यास सुरु भएको हो भन्ने सर्वव्यापी मान्यता छ। कटुवाल प्रथा, ढोल पिट्ने र सूचना प्रवाह गर्ने, चिठीपत्र हुँदै आधुनिकतामा प्रवेश गरेको सूचना प्रवाहको क्रम पत्रपत्रिका, रेडियो, टेलिभिजन इन्टरनेट हुँदै हाइब्रिटाइज भएको छ। माध्यमको क्षेत्र जति फराकिलो हुँदै गएको छ, जनशक्तिको माग उत्तिकै हुनुपर्ने हो तर यो हुन नसक्ने अवस्था सिर्जना भएको छ। न्युज एजेन्सीहरूको विकास पुरातनवादी शैलीबाट नयाँ युगमा प्रवेश गरेको छ। न्युज एजेन्सीहरूले दिने समाचार निश्चित मिडियाको पहुँच नपुग्ने ठाउँका हुने जुन अवस्था थियो त्यो परिभाषा अब करिब फेरिएको छ। न्युज ‘अन डिमान्ड’ मा एजेन्सीहरू जान थालेका छन्।

कुन सञ्चार माध्यमलाई कस्तो समाचार चाहिएको छ त्यस्तै समाचार दिने र सोहीअनुसार पैसा लिने गरी एजेन्सीहरूले थालेका अभ्यासले मिडिया हाउस र न्युज रुमहरू कमजोर हुने अवस्थामा पुग्ने खतरा देखिन्छ। धेरै सञ्चार माध्यम एजेन्सीकेन्द्रित बन्दै गएका छन्। समाचार कक्षमा बसेरै सामग्री उत्पादन गर्ने क्रम बढ्दो छ। सीमित जनशक्ति राखेर सञ्चार माध्यम चलाउने क्रम विकास भइरहेको छ। मूलतः पत्रकारिता सेवामूलक व्यवसाय हो तर अब यो सेवाभन्दा बढी व्यापारिक हुने खतरा बढ्दैैछ। जुन पत्रकारिताका हिसाबले राम्रो होइन।

सामाजिक सञ्जाल मिडिया कन्टेन्टलाई प्रभावित पार्ने मात्रै होइन, सूचना प्राप्त गर्ने स्रोत समेत बनेको छ। फेसबुक, एक्स, युट्युबलगायत माध्यम दैनिक थप शक्तिशाली बन्दैछन्। सूचना प्रवाह मात्रै नभई सामाजिक सञ्जालमा भ्रम छर्ने किसिमका सामग्रीदेखि विभिन्न स्वार्थ समूह केन्द्रित विषय पनि आउँछन्। यसकारण सामाजिक सञ्जाल मिडिया कन्टेन्ट पाइने स्रोतका रूपमा विकास भए पनि मिडियाको भूमिका भने खेल्न सक्दैनन्। तर पनि प्रविधिको विकास र यसको प्रभावलाई छेक्न कठिन छ।

यति मात्रै नभई अब अर्को चुनौती थपिएको छ, एआइ अर्थात आर्टिफिसियल इन्टेलिजेन्स (एआई)। इन्टरनेटको प्रयोगबाट अब समाचार सामग्री उत्पादनदेखि वितरण थप चुनौतीको विषय बन्न पुगेको छ। विश्वका केही चर्चित मिडियाले एआर्ईबाट समाचार पढेकादेखि थुप्रै प्रयोगलाई प्राथमिकता दिन थालेका छन्। यसले अब पत्रकरिता गर्छु भन्नेमाथि खतरा पैदा गर्ने डर देखाइदिएको छ। च्याट–बोट, गुगल र एप्पललगायत ठूला कम्पनी प्रश्न सोधेकै भरमा उत्तर खोजिदिने र समाचार सामग्री नै तयार पारिदिनेसम्मका काम हुने गरी प्राविधिकहरू एआइको विकासमा जुटेका छन्। यसले पत्रकारितामा मात्रै नभई सबै क्षेत्रमा चुनौती थपिएको छ ।

प्रविधिको तीव्र विकास र रोबोटिक कार्य सम्पादन अबको विश्वमा चुनौती बन्ने खतरा भए पनि यसले गर्ने काम र मानिसले गर्ने काममा भिन्नता भने सधैँ रहिरहनेछ। एआईले समेत समाचार उत्पादनदेखि यसलाई कलात्मकरूपमा प्रस्तुत गर्न गम्भीर सहयोग गर्ने सम्भावना पनि सकारात्मक पक्षका रूपमा छँदैछ। टेलिभिजन स्क्रिनमा समेत समाचार पढेका दृश्यदेखि पछिल्लो समय विभिन्न आवाजमा स्वराङ्कन गरेर गीत सार्वजनिक हुने क्रम बढ्दो छ। तर पनि एआइको प्रयोग सिर्जनात्मक हुन कठिन छ। सिर्जना मानव मस्तिष्कबाट हुने नयाँ उत्पादन पनि हो तर एआइले सिर्जना गर्ने भनेको इन्टरनेटमा उपलब्ध तथ्याङ्क विश्लेषण–बाहेक सम्भव छैन। यसकारण पनि एआइका सीमितता व्यापक छन् तर जोखिम पनि उत्तिकै छन्।

ब्रान्ड भ्यालुको पछाडि कुद्ने जमात र त्यसलाई विश्वास गर्ने ठूलो जमातमाथि मिथ्या सूचनाको सम्प्रेषण र मिडिया कन्टेन्ट उत्पादन अबको चुनौती हो। सामान्य पाठक, दर्शकले छुट्याउनै नसक्ने गरी समाचार सामग्री उत्पादन हुने र यस्ता विषयबाट ठूलो प्रभाव कायम हुने अवस्था सिर्जना भएमा त्यसले गहिरो संकट मात्रै निम्त्याउने छैन, यसले पत्रकार र उनीहरूको विश्वसनीयतामाथि समेत प्रश्न खडा गर्नेछ। तर पनि पत्रकारिताको विकास र यसको सम्बद्र्धनका लागि पत्रकार अनिवार्य सर्त हो। चुनौती जति बढ्ने हो, सम्भावना पनि उत्तिकै बलियो बन्ने ठानिन्छ। तर यसलाई पत्रकार आफैँले कसरी बुझ्ने? आफ्नो भविष्य पत्रकारितामै कसरी सुरक्षित गर्ने? अब खोजीको विषय यो बन्नुपर्नेछ।

एजेन्सीले सामान्य खर्चमै धेरै सेवा दिने काम गर्नाले पनि सञ्चार माध्यमहरू ठूलो मात्रामा जनशक्ति राख्नुको सट्टा ’‘मल्टी टास्किङ’ (सञ्चारको प्रकृतिअनुसारको सबै काम गर्न सक्ने) सीमित कर्मचारीलाई राखेर अघि बढ्ने मनस्थितिमा देखिन्छन् जुन एजेन्सीले पारेको प्रभाव हो। जस्तो–नेकपा एमालेका अध्यक्ष केपी ओलीले गएको पुस ४ गते पार्टी निकट खेलकुद महासंघको बैठकलाई सम्बोधन गर्दै आन्दोलन गर्नेदेखि सरकारमाथि गम्भीर आक्षेपसहित देशको स्थितिबारे बयान गरे। कार्यक्रममा खासै मिडियाको उपस्थिति थिएन। तर एजेन्सीहरू सहभागी थिए। यो एजेन्सीले मिडिया कन्टेन्ट क्रिएटर र मिडिया जनशक्तिलाई कसरी साँघुरो बनाउँदैछ भन्ने दृष्टान्त हो। एजेन्सीले जमाउँदै लगेको प्रभाव पत्रकारमा मात्रै पर्ने हो वा समग्र पत्रकारिता क्षेत्रमा? अनुसन्धान आवश्यक छ।

प्रकाशित: ८ माघ २०८० ०६:१७ सोमबार


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here