
आधुनिक नेपालको राजनीतिक इतिहासमा वी पीको मेलमिलापको नीतिलाई एउटा नवीन दृष्टिकोणको रुपमा हेरिन्छ। जसबाट नेपाली राजनीतिमा नयाँ घुम्ती थपिएको छ।वीपीले आजभन्दा करिव ४७ वर्ष अगाडि प्रतिपादन गरेको मेलमिलापको नीति रणनीति र आदर्शको हिसाबले अपरिहार्य विषय थियो भन्ने कुरा पुष्टि भैसकेको छ ।वीपीले तत्कालीन अवस्थामा मेलमिलापको नीतिको महत्त्व र गाम्भीर्यलाई विश्लेषणात्मक टिप्पणी मार्फत मेलमिलापको नीति आत्मसमर्पण नभई परिस्थितिले उत्पन्न गरेको संघर्षको अर्को रुप दिएका थिए ।मेलमिलापको नीति नै आजको राजनीतिक परिवर्तनको प्रस्थानविन्दु रहेको कुरा नकार्न सकिदैन ।हुन त आज समय समयमा आफ्ना अभिष्ट पूरा गर्न तथा सत्ता प्राप्तिका निम्ति हुने गरेका विभिन्न उचित अनुचित सबैखाले गठबन्धनलाई वीपीको मेलमिलापको नीतिकै संज्ञा दिने गरिन्छ। तर एक महान राजेनेताले आत्ममन्थनबाट प्रतिपादित एक सिद्धान्तको रुपमा मेलमिलापको नीतिलाई लिन सकिन्छ। जीवनभर विभिन्न यातना र प्रताडना सहेर पनि राष्ट्र हितका निम्ति आफ्नो प्राण हत्केलामा राखेर अख्तियार गरेको मेलमिलापको नीतिको सान्दर्भिकताको ’boutमा यस आलेखमार्फत चर्चा गरिन्छ ।
मुलुकको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वाधीनताको रक्षार्थ जनताकै बिचमा रहनुपर्छ भन्ने सोचका साथ वीपीले अवलम्बन गरेको मेलमिलापको नीतिको विषयमा राजनीतिक वृत्तमा विभिन्न चर्चा परिचर्चा हुने गरेको पाइन्छ ।दक्षिण एसियाको बदलिँदो संक्रमणकालीन राजनीति र यसबाट नेपालमाथि पर्नसक्ने संकटलाई मध्यनजर गरेरै वीपी यो निर्णयमा पुगेका थिए । नेपालमा विदेशी शक्तिहरुले कुचक्र फैलाउन सक्ने र नेपाललाई अन्तर्राष्ट्रिय षड्यन्त्रको अखडा बनाउने खतरा बढ्दै गएकोमा वीपीले मेलमिलापको नीति अघि सारेका थिए।राष्ट्र रहेन भने हामी पनि रहन्नौ भन्ने बुझेका वीपीको विचारमा राजाभन्दा राष्ट्रप्रेमी अरु कोही हुन सक्दैन भन्ने थियो। राष्ट्रप्रेमी र प्रजातन्त्रप्रेमी बिचको एकताबाट मात्र राष्ट्रियता र प्रजातन्त्र दुवै जोगाउन सकिन्छ भन्ने वीपीको विचार थियो ।गान्धीको विचारबाट प्रभावित वीपी फरक मत भएकाहरुसँग पनि फरक मन राख्दैन थिए ।यसैले आफैलाई अपदस्त गरेर जेल हाल्ने राजासँगसमेत गर्धन जोड्न तयार भएर वि. सं.२०३३ पोष १६ गते मेलमिलापको नीति लिएर नेपाल प्रवेश गरेका थिए ।
अन्तर्राष्ट्रिय सन्दर्भ
दक्षिण एसियामा बढ्दै गएको अस्थिरता , इरानमा अमेरिकी समर्थक सत्ताको विरुद्धमा आन्दोलन र संघर्ष चर्किनु ,भियतनामबाट अमेरिकी सेना फिर्ता हुन बाध्य पारिनु,शोभियत संघबाट अफगानिस्तानमा सैन्य आक्रमण ,इन्डोनेसियामा साम्यवादी दलले सुकार्नोको सत्तापलट गर्ने असफल प्रयास,शोभियत संघ र अमेरिका विचको चरम शितयुध्द , भारत प्रष्टसँग शोभियत संघको पक्षमा उभिनु,बाइसौँ राज्यको रुपमा भारतमा सिक्किमको विलय, पुर्वी पाकिस्तान फुटेर बङ्गलादेशको उदय ,इन्दिरा गान्धीको सरकारबाट भारतमा संकटकाल घोषणा जस्ता विषयले दक्षिण एसियाको राजनीति संक्रमित भएको थियोे। इन्दिरा गान्धीले आफ्नो राजनीतिक विरोधीहरु अर्थात भारतका प्रजातान्त्रप्रेमी नेताहरु जयप्रकाश नारायण ,राममनोहर लोहिया ,चन्द्रशेखर लगायत अधिकांश वीपीका सुभेच्छुकहरु गिरफ्तार गरेका थिए।आफ्नो देशका प्रजातन्त्रप्रेमी नेताहरूलाई गिरफ्तार गर्ने भारतले नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहयोग गर्ने आश थिएन। सिक्किमलाई सहजै निलेको इन्दिरा गान्धीमा बढ्दै गएको आत्मविश्वासले विस्तारै भारतको गिद्धे नजर नेपालतिर सोझिन थालिसको थियो भने वी पीलाई पनि लेन्डुप बन्ने दबाब बढ्दै गएको थियो। यस्तो प्रतिकूल अवस्थामा अनुकूल उपायको खोजीस्वरुप वी पीले मेलमिलापको नीतिअवलम्बन गरेका थिए।
राष्ट्रिय सन्दर्भ
सोलुखुुम्बुको टिम्बुरबोटे काण्डबाट वीपीको कोमल हृदयमा निकै ठूलो आघात पुग्यो।यस काण्डपश्चात् वीपी निकै उद्देलित भएका थिए।टिम्बुरबोटे काण्डमा राम लक्ष्मण उपाध्याय सहित १६ जनाले ज्यान गुमाए भने दर्जनौ गिरफ्तारीमा परे।विमान अपहरणपछि सरकार काङ्ग्रेसप्रति निकै कडा रुपमा प्रस्तुत भएको थियो । तत्कालीन समयमा अमेरिकामा जीमी कार्टर राष्ट्रपति थिए ।उनी मानव अधिकार र प्रजातन्त्रको पक्षमा जोडदार वकालत गर्थे। भारत शोभियत संघको कित्तामा उभिएकोमा सशंकित बनेका राजा बिरेन्द्रको अमेरिकातर्फ झुकाव थियोे ।यस्तो अवस्थामा राजा बिरेन्द्रबाट प्रजातन्त्रप्रति सहानुभूति पाउन सकिन्छ भन्ने आश वीपीले राखेका थिए ।
वीपीको विचारमा प्रवासमा बसेर संघर्ष गर्दा राष्ट्रियता कमजोर हुन्छ भन्ने थियो ।वीपीमाथि नेपालमा राजकाज सम्बन्धि करिब ७ ओटा मुद्दा अदालतमा विचाराधीन थिए जसमध्ये कुनै १ मा मात्रै हारे पनि फासीको सजाय हुन सक्थ्यो ।भारतमा बसेर मन्द विष पिएर जिउनुभन्दा स्वदेशमै ससम्मान फाँसीमा झुन्डिन तयार भएका थिए। प्रवाशमा बसेर आयु बढाउनुभन्दा स्वदेशमै बसेर प्रजातन्त्रको लागि प्राण दिने अठोटको साथ नेपाल फर्कने निधो गरेका थिय।यसैले मेलमिलापको वक्तव्यमा भनेका छन् ,ः हरेक देशको नागरिकको लागि एउटा यस्तो समय आउँछ त्यतिबेला उसले आवश्यक परेको बेला आफ्नो प्राणको आहूति दिन पनि तयार हुनुपर्छ । हामी यतिबेला यस्तै अवस्थाबाट गुज्रीरहेका छौँ ।यतिन्जेल प्रजातन्त्रको लागि मात्र लड्यौँ अब राष्ट्रियताको लागि पनि लड्नु पर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ ।
वीपीको मेलमिलापको नीतिको अपव्याख्या गर्दै यसको सन्देश र आव्हानलाई पञ्चायती ,दरवारीया तथा कम्युनिस्टहरुले न संघर्ष न समर्पणको संज्ञा दिए। तर वीपीको यो निर्णय निकै साहसिक र दुरगामी सावित भएको छ।मृत्युुवरणको तयारी स्वरूप राष्ट्रियताको रक्षार्थ भएको वीपीको आगमनलाई नेपालका वामपन्थीहरूले स्वागत गर्न सकेनन् उल्टै वीपीलाई अन्तर्राष्ट्रिय तत्वको आरोप लगाएर फासीको सजाय माग गर्दै नारा जुलुस गरे।दरबारको आदेशमा विमानस्थलबाट सोझै सुन्दरीजल जेलमा लगियो । सुन्दरीजल जेलबाट नै उनले आफूमाथि लागेका ८ राजद्रोहको मुद्दाको सामना गर्नु पर्यो र उनले डटेर प्रतिवाद गरे।
आजको काङ्ग्रेस
वीपीको विरासतको गौरवमय इतिहाँसको भारीले नेपाली काङ्ग्रेस थिचिएको छ। निर्वाचन सम्पन्न भएको १ वर्ष पूरा भैसक्यो। अप्रत्याशित रुपमा उदाएको नया दल, प्रतिकूल लगानी मैत्री वातावरण तथा डमाडोल अर्थतन्त्र र युवा विदेश पलायन भइरहेका विषयमाथि नेपाली काङ्ग्रेस गम्भीर हुन सकेको देखिदैन ।देशमा पछिल्लोपटक जोडदार रुपमा उठेको हिन्दुराज्य घोषणाको विषयलगायत विभिन्न विषयमा नेपाली काङ्ग्रेसले आफ्नो महासमिति बैठकले कस्तो नीति लिन्छ भनेर आम जनताले चासो लिएका छन् । तर यस्तो अवस्थामा नेपाली काङ्ग्रेसको महाधिवेशनपस्चातको सर्वोच्च निकाय महासमिति बैठकको मिति पटकपटक गरि तेस्रोपटक समेत सरिसकेको छ नेपाली काङ्ग्रेसले यतिबेला न त आफ्नो पार्टीलाई विधानको ट्रयाकमा राख्न सक्यो न त आफ्नो युवा विद्यार्थी संगठन नेविसंघ र तरुण दललाई चलायमान बनाएर संगठन विस्तार गर्न सकेको छ।
हिजो वीपी राष्ट्रिय राजनीतिको मूलधारमा नहुदा पनि देशको राष्ट्रिय राजनीतिआफ्नै सेरोफेरोमा घुमाउन काविल थिए । तर आज आफैंले ल्याएको संघीय गणतन्त्र नेपालको सबैभन्दा ठुलो दल रहेको नेपाली काङ्ग्रेस प्रचण्ड सरकारको निर्णयको किनाराको साक्षी मात्र भएको छ । नेपाली काङ्ग्रेसको जनमुखी भूमिकालाई सबल कार्यनयन गर्न सकेको छैन ।नेपाली काङ्ग्रेसले आफ्नो परम्परागत पहिचान गुमाउँदै गएको छ । नेपालको हरेक राजनीतिक परिवर्तनको नेतृत्व गरेको काङ्ग्रेस नेतृत्व परिवर्तनको विषयमा मात्रै अल्मलिएको छ।वीपीको मेलमिलापको नीतिको जगमा उभिएको नेपाली काङ्ग्रेस गुटउपगुटको महासंघ नै भएको छ।
आज देशको नेतृत्व गरिरहेका माओवादी पार्टी र उक्त दलका नेताहरुमा वी पीले आजभन्दा ४७ वर्ष अगाडि नै आफ्नो मेलमिलापको नीतिको वक्तव्य मार्फत संकेत गरेका विषय स्वार्थ परायणता,साम्प्रदायिकता, व्यक्तवादी मनोवृत्ति र विदेशप्रति आमुख हुन प्रवृत्ति बढ्दै गएको देखिन्छ यस घटनाबाट देशको राष्ट्रियतामाथि नै पुनः संकट नआउला भन्न सकिदैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लाममवद्ध युवाहरूको भिडले यो सरकारलाई गिज्याइरहेको छ।कोरिया जाने भाषा परीक्षाको तयारीमा काठमाडौं आएका सुजन राउत र विरेन्द्र साहको प्रहरीको निर्घात कुटपिट र गोली प्रहारबाट निधन भएको छ भने दर्जनौ घाइते भएका छन्।यस घट्नाबाट यो सरकार नागरिकप्रति कति निर्मम हुनसक्छ भन्ने प्रष्ट भैसकेको छ । यो अवस्थामा नेपाली काङ्ग्रेसले सडक र सदनबाट सरकारको विरुद्धमा जोडदार आवाज बुलन्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ।वीपीको मेलमिलापको नीतिको गाम्भीर्य र विश्लेषणको पदचापको अनुकरण र व्यवहारिक धरातलमा नेपाली काङ्ग्रेस पनि उभिन सकेको छैन।मेलमिलापको दिवसको अवसरमा वीपीको मेलमिलापको नीतिलाई एउटा उत्कृष्ट राजनीतिक दर्शनको रुपमा आत्मसात् गर्दै। यसका सन्देशलाई हरेक नेपालीले आफ्नो व्यवहारमा अनुसरण गर्न जरुरी छ।
लेखक नेपाल विद्यार्थी संघ रौतहटका पूर्वअध्यक्ष तथा नेपाली कांग्रेसका हालै जिल्ला कमिटी सदस्य हुन् ।
(८४ पटक भ्रमण गरिएको, आज ८४ पटक भ्रमण गरिएको)