Home नेपाल समाचार राजाहरूको क्रूरता र सनक : RajdhaniDaily.com

राजाहरूको क्रूरता र सनक : RajdhaniDaily.com

0
राजाहरूको क्रूरता र सनक : RajdhaniDaily.com

हिजो २७ पुस । यस दिनलाई राष्ट्रिय एकता दिवस पनि भनिन्छ । पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायक मान्दै उनी जन्मेको दिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने प्रचलन चलाइएको हो । नेपाल राष्ट्रका रूपमा वर्तमान भौगोलिक स्वरूपको उत्सव मनाउने भए त्यो कुनै एक व्यक्तिको जन्मदिनका दिन किन मनाउने ? साँच्चिकै नेपालले बृहत् राष्ट्रका स्वरूप प्राप्त गरेको दिन पो मनाउनुपथ्र्यो कि ? पृथ्वीनारायण शाहले उपत्यका विजय गरेको दिन अर्थात् इन्द्रजात्राको दिन किन नमनाउने ? इतिहासकारहरूको सम्मतिमा अन्य कुनै दिन पनि उपयुक्त हुनसक्छ । यो प्रश्न उठाउनु मात्र पनि असंख्य दुर्वचनयुक्त प्रहारको निसाना बन्नुपर्ने कारण बन्नसक्छ !

अकल्पनीय देवत्वकरण र असोचनीय दानवीकरण आजको प्रचलन बनेको छ । स्वतन्त्र विचार अभिव्यक्तिप्रति थोरै सहिष्णुतासम्म हराएको परिप्रेक्ष्यमा के भन्दा ठीक हुन्छ र के भन्न हुँदैन छुट्याउन अत्यन्तै गाह्रो छ । जे होस्, सारा दुनियाँ आफूभन्दा फरक देखिए पनि लागेको कुरा भन्न डराउनुहुन्न भन्ने मान्यताका साथ आजको आलेख सुरू गरिँदै छ । पृथ्वीनारायण शाहसँग सम्बन्धित दुई घटनाका ’boutमा उल्लेख गरौं ।

पृथ्वीनारायण शाहले ठूलो यत्नपश्चात् मात्र उपत्यका विजय गरेको तथ्यमा त दुईमत नहोला । उपत्यका हासिल गर्ने क्रममा उनलाई कीर्तिपुरले निकै नै सतायो, निकै नोक्सानी बेहोर्नुप-यो । दुईपटकको पराजयपछि मात्र कीर्तिपुर हात लागेको थियो । कीर्तिपुरको लडाइँमा उनका अत्यन्तै विश्वासपात्र सेनापति कालु पाण्डेको ज्यान गयो भने उनका कान्छा भाइ सुरप्रताप शाहको आँखा गुम्यो । धेरै संख्यामा सैनिकको पनि ज्यान गयो । स्वयं पृथ्वीनारायणसमेत झन्डै मारिएका थिए । तेस्रो प्रयासमा मात्र कीर्तिपुरमाथि विजय प्राप्त भयो । कीर्तिपुरसँगको लडाइँमा भएको ठूलो क्षतिका कारण पृथ्वीनारायण निकै नै क्रुद्ध र विक्षिप्त बनेका थिए । विजयपश्चात् उनले सयौं कीर्तिपुरवासीको ओठ र नाक इत्यादि काटेर दण्डित गरेका थिए । निर्दोष आमजनताका काटिएका अंगको डंगुर खर्पनमा राखेर सहर घुमाइएको सम्म भनिन्छ । यहाँनेर थोरै अतिशयोक्ति भएको हुनसक्छ । त्यति साना अंगको डुंगुर खर्पनमा राखेर घुमाउनु भनेको हजारौं व्यक्तिको नाक इत्यादि काटिएको हुनुपर्छ । त्यसबेलाको जनसंख्यालाई विचार गर्ने हो भने संख्या बढाइचढाइ गरिएको जस्तो प्रतीत हुन्छ । तर, आज पनि थानकोटको त्रिभुवन पार्कको माथिल्लो भागमा ती काटिएका अंग गाडिएको ठाउँ भनेर देखाइन्छ । घटना भएको हो, सायद संख्या अतिशयोक्तिपूर्ण छ । सयौंको संख्यामा कीर्तिपुरवासीका साना अंग काटिएका हुन् भन्ने विश्वास गर्ने अवस्था छ ।

अर्को एउटा घटना । पृथ्वीनारायण शाहका तीन–चार रानीहरूमध्ये एक मकवानपुरकी राजकुमारी पनि थिइन् । त्यसबेलाको गोर्खाभन्दा मकवानपुर समृद्ध र सुगम राज्य थियो । गोर्खा दरबार भएको क्षेत्रमा आज पनि जीवन सहज छैन । पानीजस्तो आधारभूत आवश्यकताको समेत समस्या थियो होला । यस्तै कारणले हो वा अरू कुनै कारणले हो, मकवानपुरे राजकन्या लामो समयदेखि माइत बसेकी थिइन् ।

धेरै राजा रजौटा र उपत्यकासमेत जितेपश्चात् पृथ्वीनारायण शाह स्वाभाविक रूपमा शक्तिशाली बने । उनलाई आफ्नी मकवानपुरे रानीको याद आयो । रानीलाई लिन उनी ससुराली मकवानपुर पुगे । शक्तिशाली विजयी राजा र त्यसमाथि ज्वाईं ! ठूलो सत्कार हुने नै भयो । दरबार पुग्ने बाटोदेखि नै उनको भव्य स्वागत भयो । दरबारका ढोकाहरूमा आठपहरिया द्वारपालहरू थिए । तीमध्ये एक द्वारपालले पृथ्वीनारायण शाहलाई जुत्ता लगाएर सलाम गरेछन् । सायद त्यसबेला जुत्ता लगाएर सलाम गर्न हुँदैनथ्यो । पृथ्वीनारायणलाई रिस उठ्यो । उनले तत्कालै म्यानबाट तरबार निकालेर त्यो आठपहरियाको गर्धन छिनालिदिए !

कीर्तिपुरसँगको लडाइँमा भएको ठूलो क्षतिका कारण पृथ्वीनारायण निकै नै क्रुद्ध र विक्षिप्त बनेका थिए । विजयपश्चात् उनले सयौं कीर्तिपुरवासीको ओठ र नाक इत्यादि काटेर दण्डित गरेका थिए । निर्दोष आमजनताका काटिएका अंगको डंगुर खर्पनमा राखेर सहर घुमाइएको सम्म भनिन्छ

अब एकैक्षण पृथ्वीनारायण शाहका नाति राजा रणबहादुर शाहको कुरा गरौं । रणबहादुर शाहका तीन–चार औपचारिक रानीबाहेक कैयन् भित्रिनीहरू थिए । सयौंको संख्यामा नानी सुसारेहरूलाई उनले सुखसयलको साधन बनाएका थिए । बेला मौकामा उनी तीन–चारवटी त्यस्तीलाई लिएर डुल्न निस्कन्थे । ती नानी डोलीमा हुन्थे भने उनी आफूचाहिँ घोडामा । बाग्मती नदीमा पुगेर उनी पुलमाथि अडिन्थे । त्यसताका डोलीले पुलमाथिबाट जानुहुन्न भन्ने प्रचलन थियो । त्यो भएर उनी आफू पुलमा रहन्थे र डोलीहरू खोलाभित्रबाट बोकेर तारिन्थे । उर्लेको नदीको बीचमा डोली पुगेपछि पुलमाथि उभिएका रणबहादुर चिच्याउँथे– छोड्दे छोड्दे ! डोलेहरूले डोली घोप्ट्याइदिन्थे ! ती कमजोर नानीहरू उर्लंदो खोलामा छट्पटिएको देखेर रणबहादुर दंग पर्थे, खुसी हुन्थे !

रणबहादुर शाहले कान्तवती नामकी मैथिली ब्राह् मणी कन्यालाई कान्छी बडामहारानी बनाएर भित्र्याएका थिए । कान्तवतीप्रति उनी आशक्त नै थिए । प्रेमात्तुर रणबहादुरले मौजुदा युवराजलाई खोसेर कान्तवतीबाट जन्मेका पुत्र गिर्वाणयुद्धलाई युवराज बनाएका थिए । ती प्यारी कान्तवतीलाई बिफर रोग लाग्यो । रणबहादुरले कैयन् वैद्य झारफूक सबै गराए । तमाम मठमन्दिरमा पूजाआजा गराए । तर, केही सीप लागेन । प्यारी रानी कान्तवती परलोक गइन् । त्यसपछि त रणबहादुरले ताण्डव नै देखाउन थाले । बेलाबखत उनी नांगै हिँड्थे । रणबहादुर शाहको जिउमा वस्त्र नभएको चित्र धेरैले देखेको हुनसक्छ । कान्तवतीलाई उपचार गर्ने वैद्य कविराजहरूलाई उनले खोजीखोजी मारे । ‘मेरी रानीलाई नबचाउने’ भन्दै कैयन् मन्दिर तोडे र देवदेवीको मूर्तिमा मानव बिष्टा दल्नेजस्तो काम गरे । उनी पशुपतिनाथको मूर्तिलाई समेत तोपले हानेर ध्वस्त गराउन तयार भएका थिए । धन्न, त्यसबेलाका बडागुरुज्यूले सम्झाइबुझाई जोगाए !

रणबहादुरका नाति र पनाति राजेन्द्र र सुरेन्द्रका अनौठा कथा त धेरैले सुनेको हुनुपर्छ । वास्तवमा यिनको अनौठो व्यवहार र कमजोरीका कारण नै जंगबहादुरको उदय भएको हो भन्दा धेरै अत्युक्ति नहोला । मानिसलाई धरहराबाट हामफाल्न लगाउने र उर्लेको त्रिशूली नदीमा घोडासहित फालहाल्न आदेश दिनेजस्ता व्यवहार त किंवदन्ती नै बनेको छ । यी बाबुछोराको एउटा सानो रमाइलो प्रसंग उल्लेख गरौं ।

राजा राजेन्द्र पदच्यूत भएर भक्तपुर पचपन्न झ्याले दरबारमा बन्दी जीवन बिताइरहेका थिए । छोरा सुरेन्द्र राजगद्दीमा आसीन थिए । दसैंको टीकाको अवसरमा राजा सुरेन्द्र बुबा राजेन्द्रलाई भेट्न भक्तपुर पुगेछन् । अवसर मुताविक सेविकाले टीका र जमराको थाली बाबुछोराको बीचमा राखिदिइन् । त्यत्तिकैमा बाबुछोराबीच वादविवाद भएछ । सुरेन्द्रले बुबा राजेन्द्रलाई टीका लगाइदिन भन्दै निधार थापे । राजेन्द्रले भनेछन्, ‘सरकार त राजा । राजाले पो प्रजालाई टीका लगाउँछ त । टीका लगाइदिइबक्सियोस् ।’ सुरेन्द्र भन्दा रहेछन्, ‘हजुर मेरो बुबा । छोरालाई बुबाले टीका लगाउनुपर्छ ।’ बाबुछोराको बीच भनाभन भयो र विवाद बढ्दै हात हालाहालजस्तै अवस्था सिर्जना भयो । अन्त्यमा रिसाएर दुवैले एकअर्काको निधारमा कोपरेर रगत निकालेछन् र त्यही रगत पोत्दै भनेछन् ‘लौ खा ! टीका लगा !’

अत्यन्तै सौम्य मानिने राजा त्रिभुवनका ’boutमा पनि एउटा सानो घटनाको उल्लेख गरौं । पूर्ण रूपमा राणाको बन्दी रहेका राजा त्रिभुवनले तत्कालीन श्री ३ महाराजसँग निजी खर्चका लागि केही लाख रुपैयाँ माग गरेछन् । श्री ३ ले तत्कालीन जनरल रुद्रशमशेरमार्फत मागेभन्दा कम रकम पठाइदिएछन् । श्री ३ लाई राजाको खर्चालु बानी मन नपरेको रहेछ । जे होस्, रुद्रशमशेरले कम्पनी नोटका बिटा राजाका सामु राखिदिएछन् । आफूले मागेभन्दा कम रकम आएकामा असन्तुष्ट राजाले केही बोलेनन् । तर, कुरा गर्दै ठूलो परिमाणको नोट नजिकै रहेको मैनबत्तीमा बाल्दै चुरोट सल्काउन थालेछन् !

माथि उल्लिखित राजा पृथ्वीनारायण शाह, रणबहादुर शाह, राजेन्द्र, सुरेन्द्र बाबुछोरा र त्रिभुवनको व्यवहारलाई के संज्ञा दिने ? पृथ्वीनारायण शाहलाई नेपालको वर्तमान भौगोलिक स्वरूपका लागि यथोचित श्रेय दिऊँ । उनको विस्तार अभियान नितान्त व्यक्तिगत महत्वाकांक्षाबाट प्रेरित राज्य विस्तार थियो वा असली नेपाल एकीकरण थियो भन्ने बहसमा पनि नलागौं । उनलाई नेपालका निर्माता नै मानौं । उनको दिव्योपदेशलाई पनि मौलिक गीतासरह नै मानौं । तर, पराजित निहत्था जनता होस् वा आफ्नो अधीनमा आएको व्यक्तिलाई ओठ र नाक काटेर दण्डित गर्ने अनि सलाम गरेको नमिलेकामा मान्छे काट्ने व्यवहारलाई क्रूरताको पराकाष्ठा नै भन्नुपर्छ । कुनै ठाउँ वा कालखण्डको मापदण्ड वा मानकको दृष्टिले यो क्रूर सनकीपनको निसानी नै हो ।

रणबहादुर शाहको व्यवहारमा त चरम परपीडक प्रवृत्ति एवं पागलपन नै पाइन्छ । राजेन्द्र र सुरेन्द्रमा असन्तुलित मानसिकता देखिन्छ नै । राजा त्रिभुवनमा समेत सनकको प्रचुरता पाइयो । यस वंशको पछिल्लो पुस्ता दीपेन्द्रले देखाएको सनकको हदका ’boutमा बताइरहन नपर्ला ! सायद यहाँ उल्लेख नभएका झिना मसिना पात्रहरूका ’boutमा खोतल्ने हो भने पनि धेरै चाखलाग्दा कथा उजागर होलान् !

यस आलेखको उद्देश्य कसैको बदनामी गर्नु वा कुनै वंशको मानमर्दन गर्नु पटक्कै होइन । फगत इतिहासमा अंकित केही चाखलाग्दा घटनाहरू उल्लेख गरिएको सम्म हो । तर, यति लेखिसक्दा सायद स्वयं आफैसँग एउटा प्रश्नको जवाफ भने खोज्दै छु । अरूबाट जवाफ खोजेर कसैको मस्तिष्कमा बोझ पार्न नचाहेको हुँदा आफैसँग जवाफ खोज्दै छु । के क्रूरता, पागलपन वा सनक वंशानुगत जैविक कारणले हुन्छ ? अथवा यी अवगुणहरू राजदण्ड र राजशक्तिसँग नैसर्गिक रूपमा जोडिएको हुन्छ ? जवाफ सजिलो पक्कै छैन ।

(327 पटक भ्रमण गरिएको, 1 भ्रमण आज)


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here