Home नेपाल समाचार नदी किनारमा बसाइ, खान लाउन पनि समस्या : RajdhaniDaily.com

नदी किनारमा बसाइ, खान लाउन पनि समस्या : RajdhaniDaily.com

0
नदी किनारमा बसाइ, खान लाउन पनि समस्या : RajdhaniDaily.com

बझाङ । सेती नदीको किनारको छेउमा सानो झुपडी छ । त्यो झुपडीको न ढोका छ न झ्याल । झुपडीभित्र वर्षौं पहिला कुनै गाउँलेले दिएको एउटा सानो कम्मल छ । झुपडीको कुनामा खाना पकाउने चुलो छ । त्यो चुलोमा कहिले आगो बल्छ कहिले बल्दैन । भाँडाकँुडाका नाममा पाँचवटा फुटेको थाली, केही कटौरा र सानो पकाइखाने डेक्ची मात्रै छ । त्यो पनि अरूबाट मागेर जम्मा गरिएको । बिछ्याउन बजारमा फालिएका चाउचाउ र बिस्कुटका कार्टुन छन् । गाउँलेले दिएको पुरानो कम्मल दुई छोरा,श्रीमान् र श्रीमती ओढ्ने गर्छन् । उमेर ढल्केका वृद्ध व्यक्ति पनि छन् । उनका लागि सानो कम्मल मात्रै छ ।

पाँच जनाको परिवार त्यही झुपडीमा जीविका चलाउँदै आएको १० वर्षभन्दा बढी भयो । न खेतबारी छ नत रोजगारी । एक छाकको जोहो गर्न बजार र विभिन्न व्यक्तिको घरघरचाहार्दै अन्न संकलन गरेर जीविका चलाउनुपर्ने बाध्यता छ । कति दिन त अन्न संकलन गर्न नसकेर भोकभोकै बस्नुपरेको पीडा पनि उनीहरूसँग छ । न खानको ठेगान न बस्नको । त्यसैमाथि दुई छोरा र श्रीमती पनि अपांग छन् । यताउति हिँडडुल गर्न पनि सक्दैनन् । उनीहरूको शरीरमा लगाउने कपडा पनि छैन । मागेर लगाएका कपडा पनि धुजाधुजा भइसकेका छन् ।

गाउँगाउँ चहारेर मागेर एक छाकको जोहो गर्नुपर्छ उनीहरूले । तर,जो माग्न जान सक्थे, उनी पनि बिरामीले थला परेका छन् । उनलाई ज्वरोले च्यापेको छ । गाउँमा नगएर अन्न नमाग्ने हो भने उनको घरको चुलो पनि बल्दैन । वृद्ध बुबा छन् । उनको पनि हातमा चोट लागेको छ । न माग्न सक्छन् न काम गर्न । उनको घरको चुलो नबलेको साता दिन पुग्न थाल्यो । यो व्यथा केदारस्युँ गाउँपालिका–१ की हरुदेवी दमाईको परिवारको हो ।

हरुदेवी दमाईका दुई सन्तान छन् । १७वर्षीय जेठो छोरा तुल्या नेपाली र १५ वर्षीय कान्छो छोरा जोगी नेपाली । दुवै छोरा अपांग छन् । जेठो छोरा उठ्न पनि सक्दैनन् । हातले घिस्रेर यताउति जान्छन् । शरीरमुनिको भाग चल्दैन । कान्छो छोराको पनि अवस्था उस्तै छ । अलिअलि हिँड्न सक्ने भएपनि खुट्टाले काम गर्दैन । उस्तै अवस्था हरुदेवी दमाईको पनि छ । उनी पनि अपांग नै छिन् । लौरोको सहायताले बाहिरभित्र गर्छिन् । टाढा गएर काम गर्न सक्ने क्षमता उनको पनि छैन । उनी पनि जन्मजातै अपांग हुन् । यस्तै, उनका दुवै छोरा पनि जन्मजात नै अपांगता भएका हुन् ।

हरुदेवीकी ससुरा गम्भीरे नेपाली ८०वर्ष पुगिसकेका छन् । केही महिनाअघि बजार र गाउँमा अन्न माग्न जाँदा लडेर उनको हातमा चोट लाग्यो । हरुदेवीका श्रीमान ४० वर्षीय भूमि नेपालीले नै उनीहरू सबैको एक छाकको जोहो गर्दै आएका थिए । अहिले उनी बिरामी भएर थला परेको साता दिन भयो । औषधि उपचार गर्ने पैसा छैन । एक छाकको जोहो गर्न त सयौंपटक यहाँका केही स्थानीयसँग सात ढोग सात सलाम गरेर अन्न संकलन गर्नुपर्नेहुन्छ । उनको साथमा पैसा हुने कुरो पनि भएन ।

हरुदेवी दमाई भन्छिन्,‘हातमा सीप छैन, न त कला नै छ । कसरी खाने ?भगवानले पनि दुःख दिनका लागि हामी दुःखी र गरीबलाई नै देख्दो रहेछ, छोराहरूको यस्तो अवस्था छ, आफ्नो पनि यस्तै हालत छ, केही गरौं भने पनि गर्न सक्ने अवस्था छैन, केही काम गरौं भने हामीजस्ता अपांगलाई कसले काम दिन्छ ? न गरी खान न मरिजानुजस्तै भएको छ,’ उनी भन्छिन्, ‘कहिले मजदुरी कहिले गाउँघरमा पुगेर श्रीमानले ल्याउनुहुन्थ्यो, उहाँ पनि बिरामी भएर थला पर्नुभयो ।’

अपांगता भएका दुई छोरा,थला परेका श्रीमान र बुढा ससुरालाई देखाउँदै उनले यस्तो अवस्था कसैको पनि नहोस् भन्दै आँसु झारिन् । ‘कुन दैवको पाप लाग्यो हो ?मैले त मरुन्जेल दुःख पाएँ, पाएँ, अब छोराहरूले पनि दुःख पाउने भए, यो झुपडी पनि हामीहरूको होइन, महिनाको १ सय रुपैयाँ भाडा तिर्नुपर्छ,यदि यो झुपडीवालाले ठाउँ छोड भन्यो भने नजिकै सेती नदी छ, हाम फालेर मर्नुको विकल्प छैन,’ उनले भनिन् ।

‘उमेर हुँदा खलियाको काम गरेर जीविका चलाएँ । अहिले उमेर पनि ढल्कियो । अब काम पनि गर्न सक्दिनँ,’ वृद्ध गम्भीरे नेपालीले भने,‘यी सबैलाई सरकारले मारी दिएपनि हुन्थ्यो । छोरा बिरामी भएपछि के खाने र के गर्ने सबै अन्योलमा छौं, सबै परिवारका सदस्यलाई सुईं लगाएर सबैको एउटै चिहान सरकारले गरिदिए पनि हुन्थ्यो ।’

पहिला केदारस्युँ गाउँपालिका–१ को चौडाममा बसोबास थियो उनीहरूको । गाउँमा पानी नभएपछि र सबै जना अपांगता भएपछि पानीनजिकै भएको ठाउँ खोज्दै अहिलेको ठाउँ आइपुगेका हुन् उनीहरू ।

‘एकान्त ठाउँ, कसैको कुरा सुन्न र अपहेलना पनि नहोस् भनेरयस्तो ठाउँमा बसेका हौं,’ वृद्ध गम्भीरेले भने ।

(१९ पटक भ्रमण गरिएको, आज १९ पटक भ्रमण गरिएको)


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here