
आज पुस १५, यो दिनलाई कर्णालीमा विशेष पर्वको रूपमा मान्ने चलन छ। वसन्त ऋतुको आगमन हुँदै गरेको र महिनाको मध्यदिन परेको हुँदा यस दिनलाई कर्णालीवासीहरूले पर्वको रुपमा मनाउँदै आएका हुन्।
पुसे पन्ध्रको रूपमा चर्चित यस पर्वमा विभिन्न परिकार बनाएर दिदी बहिनीको स्वागत गर्दै रातभर जाग्राम बस्ने, वृद्धवृद्धाले दन्त्य कथा सुनाउने प्रचलन रही आएको छ।

कर्णालीवासीले पुस १५ लाई विशेष महत्वका साथ मनाउँदै आइरहेका छन्। रात भरी नसुतेरै जाग्राम बस्दा आयु लम्बिने जनविश्वास छ। सबै भन्दा लामो रात पुस पन्ध्र गते हुने र लामो रात नसुतेर बिताउँदा आयु पनि निकै लामो हुने जनविश्वास रहेको चन्दननाथ नगरपालिका-४ मालाभिडका कृष्णप्रसाद देवकोटा बताउँछन्।
पुस पन्ध्रको राती बालबालिका देखि वृद्धवृद्धा सम्मले आफ्नो अनुकूलतामा मिठो मसिनो खाने चलन छ। खेतबारीमा भोज खाने र स्थानीय देउडा खेलेर सुखदु:ख साट्ने गर्छन्। सेल रोटी हाल्ने, खाजा बनाउने, गेडागुडी, माछा मासु पकाउने, हलुवा पकाउने चलन छ।

जुम्लाको राधे कद्दु (फर्सी) र जुम्ली कद्दु पकाउने र रात भरी हासखेल गर्ने गरेको संस्कृति सम्बन्धी जानकार रमानन्द आचार्य बताउँछन्। उनका अनुसार १६ गते बिहान घरबाट निस्केर धारा वा गंगाजीमा गएर नुहाई धुवाई गर्छन्।
चन्दननाथ नगरपालिका-१ आचार्यवाडा गाउँकी दुर्गा आचार्यले असार पन्ध्र सुतेर बिताउने र पुस पन्ध्र नसुतेर बिताउने परम्परागत मान्यता रहेको सुनाइन्।
अधिकांश घरमा पुस पन्ध्र गते राती गहुँको पिठोबाट मालपुवा र अर्सा बनाएर खाने गरिन्छ। सामूहिक रुपमा नुन तेल, दाल, चामल संकलन गरेर घर नजिकैको खेतबारीमा भोज गर्ने चलन छ।
यस दिन पुरुष भएको स्थानमा महिलाले दौरा सुरुवाल लगाएर नचिनिने भएर जाने र महिलाहरू भएको स्थानमा पुरुषहरुले महिलाको भेस धारण गरेर लाटा लाटीको रुपमा परिकार माग्न जाने चलन छ।
कुनै घरमा पर्खालको प्वालवाट लठ्ठि भित्र छिराउने र लट्टीमा परिकार बाँधेर पठाइदिने गरिन्छ। रातभर साईतर र गाउँ खाने कथा सुनाइन्छ। पुस पन्ध्रलाई हिउँदको मध्ये सिजनका रुपमा हेरिँदै आएको छ।
अहिले अत्यधिक मदिरा सेवन गर्ने, जुवातास खेल्ने र भाँडभैलो गर्ने परम्पराले पुस पन्ध्र मनाउने क्रममा खल्लो हुने गरेको बुढापाकाहरू बताउँछन्। पुस पन्ध्र देखि रात छोटिँदै जाने र दिन लामो हुँदै जाने विश्वास छ। यो राती चन्द्र सूर्य उत्तर दक्षिण हुन्छन्।
प्रकाशित: १५ पुस २०८० २१:०८ आइतबार